काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।
दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दसैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।
दसैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए। चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उनको भनाइ छ । “देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ”, उनले भने, “आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।”
दसैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलको मूल्य बढ्यो
घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन
पेट्रोलियम पदार्थको मूल्य घट्यो