किन गरियो प्रधानमन्त्री ओलीको पुत्लादहन ?

विहीबार, ३१ जेठ २०७५, १९ : ३५
किन गरियो प्रधानमन्त्री ओलीको पुत्लादहन ?

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा निर्धारित कार्यक्रम अन्तर्गत आज राजधानीको मुटु प्रदशनिमार्गस्थित विश्वभाषा  क्याम्पस अगाडी प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा  नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा  पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ ।

जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत आज राजधानीका विभिन्न क्याम्पस अगाडि पुत्ला दहन गरिएको हो ।  

नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले दिएको जानकारी अनुसार प्रहरी हस्तक्षेपका बाबजुद कार्यक्रम  सफल भएको छ । यस्तै चाबहिल, नेपालटार, भृकुटीमण्डप लैनचौर, घण्टाघर, ताहाचल, पुल्चोक, कलंकी, बागबजारलगायत देशभर पुतला दहन गरिएको संघका केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए ।

नेविसंघले घोषित कार्यक्रम अन्तर्गत ३१ गते देशभर प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको र असार ३ गते सबै क्याम्पस अगाडि चक्काजाम गरिने पनि केसीले बताए ।  

जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकारविरुद्ध आन्दोलित हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस