गठबन्धनका नाममा कांग्रेसले जितेका स्थान छाड्न सकिन्न :शेखर कोइराला

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १४ : ४२
गठबन्धनका नाममा कांग्रेसले जितेका स्थान छाड्न सकिन्न  :शेखर कोइराला

काठमाडौं  । नेपाली कांग्रेसले जितेका स्थान गठबन्धनका नाममा छाड्न नसकिने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

विराटनगरमा आइतबार कांग्रेस क्षेत्रीय समिति मोरङ–६ द्वारा आयोजित तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता डा. कोइरालाले विगतमा एमालेको असंवैधानिक कदम रोक्न गठबन्धन गरिएको बताए।आउँदो निर्वाचनमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा जोड दिएका नेता कोइरालाले अहिले पनि एक सय सिटभन्दा कममा कांग्रेसले सहमति गर्न नहुने बताए।

उनले भने, ‘हिजोको दिन असंवैधानिक कदम रोक्न एमालेविरुद्ध गठबन्धन गरिएको हो। स्थानीय तहमा गठबन्धनले सकारात्मक नतिजा दिएको छ। अब पनि कांग्रेस कुनै क्षेत्रमा नछुट्ने गरी गठबन्धन हुनुपर्छ।’

कार्यक्रममा नेता डा. कोइरालाले भने, ‘कांग्रेसको एक्लो सरकार बन्छ, बन्दैन। मोरङको क्षेत्र नम्बर–६ मात्र होइन सबै मोरङका क्षेत्रलाई जिताउनुपर्छ। जनताले सुशासन खोजेकाछन्। पारदर्शिता खोजेकाछन्। पार्टीमा पनि त्यही त हो खोजिएको हो।’

कार्यक्रममा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अबको निर्वाचनबाट समृद्ध नेपाल बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्ने र विजयको विगुल फुक्ने बताइन्।

गठबन्धन गर्दा  कांग्रेसले एक सय सिट लिनुपर्ने बताएकी केन्द्रीय सदस्य संग्रौलाले भनिन्, ‘गठबन्धनमा कांग्रेसले कम्तिमा एक सय सिट लिनुपर्छ। यसक्रममा टिकट पाए पनि नपाए पनि कांग्रेसलाई जिताउन कार्यकर्ता सबै प्रतिवद्ध रहनुपर्छ।’कार्यक्रममा प्रदेश–१ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले अबको नेतृत्व र एकताको परिणामका लागि निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, क्षेत्रीय सभापति देवराज तामाङलगायत नेताहरुको उपस्थिति रहेको थियो। तालिम तथा प्रशिक्षणमा देवराज चालिसे र कांग्रेस सहमहामन्त्री जीवन परियार प्रशिक्षक छन्।

प्रतिक्रिया दिनुहोस