भारतीय तीव्र गतिकी बलर झुलन गोस्वामीले सन्यास लिने

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १३ : ५१
भारतीय तीव्र गतिकी बलर झुलन गोस्वामीले सन्यास लिने

काठमाडाैँ । भारतीय तीव्र गतिकी बलर झुलन गोस्वामीले सन्यास लिने भएकी छन्। सेप्टेम्बर २४ मा इङ्ग्ल्यान्ड भ्रमणको तेस्रो एकदिवसीय खेल उनको अन्तिम खेल हुनेछ।३९ वर्षीया झुलन शुक्रबार भारतीय एकदिवसीय टोलीमा छनोट भएकी हुन्। उनी जुलाईमा श्रीलंका भ्रमणका लागि भारतीय टोलीमा थिइनन्। टिम व्यवस्थापनले झुलनसँग भविष्यका बारेमा छलफल गरेको बुझिएको छ। टोली व्यवस्थापन युवा तीव्र गतिका बलरहरूलाई टोलीमा समेट्न चाहन्छ।

झुलनले पछिल्लोपटक मार्चमा न्यूजिल्यान्डमा भएको एकदिवसीय विश्वकपमा भारतको प्रतिनिधित्व गरेकी थिइन्। दक्षिण अफ्रिकाविरुद्धको फाइनल लिग खेल्नुअघि झुलन घाइते भएर खेलबाट बाहिर बस्नुपरेको थियो। झुलनले अन्तिमपटक अक्टोबर २०१८ मा टी–२० अन्तर्राष्ट्रिय खेलेकी थिइन् भने उनले अन्तिम टेस्ट अक्टोबर २०२१ मा खेलेकी थिइन्।

झुलन श्रीलंका भ्रमणका लागि छनोट हुने भनिएपनि उनी फिटनेसमा समस्यामा थिइन्। उनी अहिले पूर्णतया फिट छिन्। राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मेडिकल स्टाफको स्वीकृतिपछि मात्र उनी इङ्ग्ल्यान्ड भ्रमणका लागि छनोट भएकी हुन्।

यद्यपि, झुलनले मार्च २०२३ मा हुने पहिलो महिला इन्डियन प्रिमियर लिग (आईपीएल)को लागि आफ्नो विकल्प खुला राखेकी छन्। उनी प्रशिक्षकको भूमिकाका लागि पुरुषको आईपीएल टोलीसँग पनि सम्पर्कमा छन्। आगामी घरेलु सिजनमा झुलनले बंगाल महिला टोलीका लागि प्रशिक्षकका साथै खेलाडीको भूमिका निर्वाह गर्नेछन्।झुलनले मार्च २००२ मा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्। दुई दशकमा उनले १२ टेस्ट, ६८ टी-२० अन्तर्राष्ट्रिय र २०१ एकदिवसीय खेलमा भारतको प्रतिनिधित्व गरिन्। उनले ६ एकदिवसीय विश्वकपमा भाग लिइन् र महिला सर्वाधिक विकेट लिने कीर्तिमान राखेकी छन्।

भारतले इङ्ग्ल्यान्ड भ्रमणमा सेप्टेम्बर १०, १३ र १५ मा तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। त्यसपछि १८, २१ र २४ सेप्टेम्बरमा तीन एकदिवसीय खेल हुनेछ। तीनवटै खेल आईसीसी महिला च्याम्पियनसिपको हिस्सा हुनेछन्। यी सबै खेल लर्ड्समा हुने छ।

प्रतिक्रिया दिनुहोस