भरतपुर महानगर लेखा समितिले बेरुजु घटाउन बढायो सक्रियता

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, ०९ : १०
भरतपुर महानगर लेखा समितिले बेरुजु घटाउन बढायो सक्रियता

चितवन । भरतपुर महानगरपालिकाको लेखा समितिले क्रियाशिलता बढाएको छ । लेखा समितिले महानगरभित्र निर्माणधिन सडक पूर्वाधार, तटबन्धन, मोज्याक टायल बिछाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने तालिका रहेको छ । 

गत असार १२ गते सम्मपन्न ११ औँ नगरसभाले ३ वटा समिति निर्माण गरेको थियो । सभाले लेखा समिति, न्यायिक समिति र सुशासन समिति निर्माण गरेको थियो । वडा नम्बर १ का अध्यक्ष केशव महर्जन संयोजक रहेको समितिमा वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेल र भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्याल सदस्य सचिव रहेका थिए । 

समितिले महानगरमा भएको बेरुजुको अध्ययन गर्ने, कस्तो कस्तो बेरुजु फछ्र्यौट गर्ने, नियमित प्रकृतिको बेरुजुलाई फछ्र्यौट गर्ने गरी तयारी गरिएको समितिका सदस्य सचिव जगन्नाथ अर्यालले जानकारी दिए । 

समितिले तयार पारेको बेरुजुको फर्छयौट गर्न कार्यापालिका बैठकमा पेश गर्ने गरी आफ्ना कामहरुलाई अगाडि बढाएको छ ।  नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परिक्षकको कार्यालयबाट खटिएको टोलीले पुनः अवलोकन गरी फर्छयौट गर्दछ । महानगरको आर्थिक वर्ष ०७७-०७८ मा ० दशमलव ५६ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बेरुजु रकम छ  । 

लेखा समितिको क्रियाशिलताले बेरुजुमा कमी आउने, पारदर्शिता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए ।  महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार ६ महानगर मध्ये सबैभन्दा कम बेरुजु भरतपुरको छ ।  समितिका सदस्य सचिव अर्यालले बेरुजु तत्काल फर्छयौट गर्ने परिपाटीको विकासले गर्दा बेरुजु कम भएको बताए । 

ऐन नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फर्छयौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाई छ ।