गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १६ : ३६
गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे

चितवन  । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाउन बिहीबार भरतपुर महानगरपालिका र निर्माणको ठेक्का पाएको कम्पनीले संयुक्त सर्भे गरेका छन् । महानगरको तर्फबाट प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र निर्माण कम्पनी बीबीआरका प्रमुख विकास गौतमसहित प्राविधिक टोली रंगशाला निर्माणस्थल पुगेर स्थलगत सर्भे गरेको थियो । महानगरले बिहीबार नै केही प्राविधिक खटाएर रंगशाला परिसरमा भएको उपकरण सामग्रीहरुको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

हाल रंगशाला परिसरमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको क्रममा प्रयोग गरेका निर्माण सामग्री र विभिन्न उपकरणहरु रहेका छन् । त्यसको तथ्यांक संकलन गरेर सुरक्षाको जिम्मा महानगरले लिएको छ भने ठेक्का पाएको निर्माण कम्पनीहरु हिमालयन कालिञ्चोक बीबीआर जेभीले आफ्नै उपकरण र निर्माण सामग्री ल्याएर काम अघि बढाउने छ । महानगर प्रमुख रेनु दाहालले फाउण्डेशनका सामग्रीहरुको जिम्मेवारी महानगरले लिने र ठेकेदार कम्पनीले नयाँ ढंगले निर्माण कार्य अघि बढाइने बताइन् । ‘यसअघिका निर्माण सामग्री र विभिन्न उपकरणको सुरक्षाको जिम्मा महानगरले लिन्छ, तपाईहरु ढुक्क भएर काम अगाडि बढाउनु होला’–निर्माण कम्पनीलाई विश्वास दिलाउँदै प्रमुख दाहालले भनिन् ।

उनले निर्माण कम्पनीलाई कुनै पनि समस्या आउन नदिने भन्दै भुक्तानीमा पनि चिन्ता नलिन आग्रह गरिन् । उनले समयमै काम सम्पन्न गरेर पुरस्कृत गर्ने वातावरण बनाउन पनि निर्माण कम्पनीलाई आग्रह गरिन् । ‘ढिलासुस्ती भयो भन्ने कुरा हामीले सुन्न नपरोस्, समयमै काम सम्पन्न गरेर तपाईलाई पुरस्कृत गर्ने वातावरण बनाइदिनुहोला’–प्रमुख दाहालले थपिन् । उनले सरकार परिवर्तन भएपनि रंगशाला निर्माणमा कुनै समस्या नआउने समेत दावी गरिन् । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा समेटेको, संघीयसंगै बागमती प्रदेश सरकारले समेत बजेट विनियोजन गरि सकेकाले नियमानुसार नै निर्माण प्रक्रिया अघि बढ्ने बताइन् ।

महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणको क्रममा आइपर्ने सबैखाले समस्या समाधान गरेर अघि बढ्ने बताए । उनले सरकार परिवर्तनले रंगशाला निर्माण कुनै समस्या नपर्ने समेत जिकिर गरे । ‘बाटो बनाएपछि सबै हिड्ने हो, यो त्यो भन्ने हुँदैन, यो रंगशाला पनि हामी सबैको सम्पत्ति हो, यसको निर्माणमा कुनै असर पर्दैन, म आफ्नो तर्फबाट सक्रिय भएर लाग्नेछु’–उप–प्रमुख अधिकारीले भने ।

ठेकेदार कम्पनी बीबीआरका अध्यक्ष विकास गौतमले आइतबारदेखि आफ्ना व्यवस्थापन टिम फिल्डमा खटिएर काम अघि बढाउने जानकारी दिए । उनले काम गर्न सहज वातावरण बनाए समयमै काम सक्ने प्रतिवद्धता जनाए । ‘हाम्रो टिम फिल्डमा खटिएर व्यवस्थापनको काममा खटिनेछ, सुरुमा खेलमैदानलाई नै प्राथमिकता राखेर निर्माण कार्य अघि बढाउँछौं’ अध्यक्ष गौतमले भने ‘खियाँ लागेको रडलाई व्यवस्थापन गर्ने कार्यमा पनि हामी प्राथमिकताका साथ लाग्नेछौं ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले निर्माण कम्पनीलाई सहज रुपमा काम अघि बढाउन महानगरले सबै सहयोग गर्ने बताए ।
भरतपुर महानगरका प्रमुख लेखाअधिकृत जगन्नाथ अर्यालले धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरि सकेकाले रंगशालामा रहेका निर्माण सामग्री र अन्य उपकरणको रेखदेखका साथै व्यवस्थापनको बाटो महानगरले नै गर्ने बताए । उनले रंगशाला निर्माणको काम र विगतका कामको व्यवस्थापन फरक पाटो रहेकाले हाललाई निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढाइने बताए ।

महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले पहिलो चरणमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी निर्माणको काम अघि बढ्ने बताए । उनले मैदानलाई नयाँ प्रविधिमा आधारित रहेर निर्माण गर्न लागिएको जानकारी दिए ।

निर्माण कम्पनीका कामदाहरु धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएका कामदार आवास, कार्यालय आवासमा रहेर काम गर्नेछन् । ठेकेदार कम्पनीले त्यसका अलवा अन्य कुनै पनि सामग्री र उपकरण फाउण्डेशनको प्रयोग गर्ने छैन । गत असार २३ गते भरतपुर महानगर र निर्माण कम्पनीबीच वि.सं.२०८३ पुस २२ गतेभित्रमा निर्माणको काम सक्ने गरी सम्झौता भएको थियो । रंगशाला निर्माणको लागत भ्याट र पीएस सहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण कार्य रोक्नुअघि ५ हजार क्षमताका प्याराफिट निर्माण भइसकेको छ ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले बोलपत्र पेश गर्दा हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीलाई छनोट गरेको थियो । पहिलापटक टेण्डर आह्वान हुँदा एउटा मात्रै कम्पनीको टेण्डर परेपछि उक्त टेण्डर रद्द गरिएको थियो । यस रंगशालालाई संघीय सरकारले गौरवको आयोजनामा राखेको छ भने बागमती प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस