भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १५ : ३९
भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

चितवन ।  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा गरेको छ । बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो ।समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ ।

समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका  कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए।समिक्षामा महाशाखा प्रमुखहरुले महाशाखा र अन्तर्गतका शाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।  योजनाहरूको छनोट समयमै मुल्याङ्कन र अनुगमन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढिकरण गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा, सुशासन र सेवा प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।

वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक वर्ष ०८०÷०८१ उपलब्धी सन्तोषजनक रहेको उल्लेख गरिन् । उनले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भएपनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताइन् ।प्रमुख दाहालले आर्थिक वर्ष ०८०÷०८१ को समिक्षाबाट निस्किएको समस्या, चुनौतीलाई अनुसन्धान, समस्याको निवारणका उपायहरु सुक्ष्म रुपले खोजी गरी चालु आर्थिक वर्षका कार्यलाई अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिइन् ।प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कार्य गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह पनि गरिन् ।
गत आर्थिक वर्षमा महानगरपालिकाले पूँजीगत तर्फ ५६ प्रतिशत मात्र खर्च गरेको छ भने चालु तर्फ ८६ प्रतिशत खर्च भएको छ ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समिक्षमा देखिएका केही सामाजिक विषयलाई समधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औल्याए ।

वार्षिक  समिक्षा बैठकमा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले मन्तव्य व्यक्त गरेका थिए ।