धेरेबेर राख्दा बिग्रिने भएको भन्दै विराटनगरका मेयरद्वारा सरकारी गाडी प्रयोग

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ०८
धेरेबेर राख्दा बिग्रिने भएको भन्दै विराटनगरका मेयरद्वारा सरकारी गाडी प्रयोग

काठमाडौं   विराटनगरका मेयर नागेश कोइरालाले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा गरेको प्रतिबद्धताविपरीत सरकारी गाडी प्रयोग गर्न थालेका छन् । आइतवारदेखि उनले सरकारी गाडी प्रयोग गर्न थालेका जानकारी दिएका छन् । 

उनले निर्वाचनको क्रममा आफू मेयरमा निर्वाचित भएमा सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका थिए । सोहीअनुसार निर्वाचित भएपछि उनले तीन महिनासम्म निजी गाडी प्रयोग गरिरहेका थिए । तर, आइतवारदेखि फेसबुकमार्फत घोषणा गरेरै उनले सरकारी गाडी प्रयोग गर्न थालेका हुन् । 

सरकारी गाडी प्रयोग गर्नु आफ्नो बाध्यता रहेको उनले फेसबुकमा उल्लेख गरेका छन् । आफूसँग निजी गाडी रहे पनि उक्त गाडीमा महानगरको तेल प्रयोग गर्दा बेरुजु देखिने गरेकाले सरकारी गाडी नै प्रयोग गर्न थालेको उनले उल्लेख गरेका छन् । 

‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ । निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु’, उनले फेसबुकमा लेखेका छन्, ‘मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ ।’

उनले लामो समयसम्म गाडी प्रयोगविहीन हुँदा प्राविधिक समस्या आउन भएकाले पनि आफूले सरकारी गाडी प्रयोग गर्न थालेको उनले उल्लेख गरेका छन् । ‘लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु’, उनी अगाडि लेख्छन्, ‘महानगरका जनप्रतिनिधि साथीहरू, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरूको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु ।’

उनले पारदर्शी हुनुपर्छ भनेर जानकारी गराएको पनि उलने भनेका छन् । ‘यो विषय सामान्य भए पनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सधैं अभिप्रेरित भएकाले महानगरवासीलाई यस विषय जानकारी गराउन उपयुक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरू सबैलाई अवगत गराउन चाहन्छु’, उनले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस