पर्वतमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १२ : ५२
पर्वतमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

पर्वत । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ ।

विद्युत सर्टका कारण करेन्ट लागेर १२ जना घाइते भएका हुन् । विद्युत सर्ट भएर करेन्ट लागेर धारापानीकी ५० वर्षीय सिता क्षेत्रीको मृत्यु भएको मिलनचोक प्रहरी चौकीका ईन्चार्ज मुक्ति खड्काले जानकारी दिए। घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको हो ।

हाईभोल्टेज लाइनका कारण गाउँका करिब २ सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा समेत मरेका छन् । विद्युत कार्यालयको लारबाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए ।

यता नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताए। आज सोमबार बिहान विद्युत समस्या समाधानका लागि केही स्थानहरुमा रुख हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत लिकेज भएको हुनसक्ने प्रमुख गोशेलीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस