भारतीय फुटबल एकेडेमीको प्रशिक्षक बने नेपालका समीर विष्ट

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १६ : ३८
भारतीय फुटबल एकेडेमीको प्रशिक्षक बने नेपालका समीर विष्ट

काठमाडौं  । एएफसी ‘सी’ लाइसेन्स प्राप्त नेपाली प्रशिक्षक समीर विष्ट भारतको केरलास्थित एल्टिएस इन्टरनेसनल फुटबल एकेडेमी (आइफा) मा अनुबन्ध भएका छन् । आइफाले विष्टसँग १ वर्षका लागि सम्झौता गरेको हो । 

आपसी समझदारीमा सम्झौता लम्ब्याउन सकिने सम्झौतामा उल्लेख छ । उनी एकेडेमीको युवा टोलीको प्रमुख प्रशिक्षक रहने छन् । विष्टले एएफसी ‘बी’ लाइसेन्स कोर्ष पनि पूरा गरिसकेका छन् । उनले छिट्टै प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

लेफ्ट विंग र फुल ब्याकमा खेल्न सक्ने विष्टले नेपालको शीर्ष क्लब थ्री स्टार, फ्रेन्ड्स र जावलाखेल युथ क्लबबाट खेलिसकेका छन् । उनी चोटकै कारण खेल जीवनबाट टाढिँदै प्रशिक्षण करिअरमा लागेका थिए । सन् २०१७ मा फ्रेन्ड्स क्लबको खेलाडी रहँदा नै उनले एएफसी ‘सी’ लाइसेन्स प्राप्त गरेका थिए । त्यसपछि जावलाखेल युथ क्लबबाट पोखरामा प्रतियोगिता खेल्दा चोट लागेपछि उनी प्रशिक्षणमा लागेका हुन् ।
 
सानेपा क्लबबाट प्रशिक्षण करिअर सुरुवात गरेका विष्टले गत वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई भारतका फुटबल अफिसियल सौरभ चाम्लिङ राईमार्फत प्रस्ताव आएपछि अनिलले विष्टको नाम सिफारिस गरेका थिए । त्यसपछि क्लबसँगको छलफलपछि सम्झौता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस