संसदमा संघीय प्रणालीमाथि प्रश्‍न उठाए - संसद गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १५ : १०
संसदमा संघीय प्रणालीमाथि प्रश्‍न उठाए  - संसद गोकुल बाँस्कोटा

काठमाडौं  । नेकपा एमाले सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले संसदमा संघीय प्रणालीमाथि प्रश्‍न उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको विशेष समय लिएर बोल्दै उनले आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको भन्दै आलोचना गरेका हुन् ।

सांसद बाँस्कोटाले भने, ‘जनता संघीय सरकारका ३/४ वटा टायरका कुराले आजित भइसकेका छन् । जनताले संघीयता फेला पारेका छैनन् । प्रदेश जनताले फेला पार्दैनन् । स्थानीय तहमा कर्मचारीहरू छैनन् । पुलिसलाई भन्यो भने ८/९ सय संसद र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता पनि असुरक्षित छन् ।’

उनले संघीयताबारे प्रश्न उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आफूले सुनेको पनि बताए । तर, संघीयताले जनतालाई कुनै किसिमको राहत, सहुलियत, सुशासनका साथै देशको आर्थिक सामाजिक प्रगति गर्न नसकेको उनको भनाइ छ । उनले कसैले समावेशिताको विरोध नगरेको तर आन्दोलनमा पनि नउठेको, आन्दोलनकारीको माग पनि नभएको  ल्याउनेलाई समेत थाहा नभएको संघीयता ल्याएर जनताले दुःख पाएको उनले तर्क गरे ।

'राज्यका निकायहरू केको निम्ति बन्छन् भने जनतालाई राहत, सहुलियत दिन र मुलुकलाई सुशासन दिन देशको आर्थिक सामाजिक प्रगति गर्न गरिन्छ । कसैले पनि समावेशिताको विरोध गरेको छैन । तर, आन्दोलनमा पनि नउठेको, आन्दोलनकारीको माग पनि नभएको,  ल्याउनेलाई थाहा पनि नभएको, उपभोग गर्नेलाई किन उपभोग गरिएको छ भन्ने पनि थाहा नभएको संघीयताको टायरमाथि टायर बोलेर जनताले यो खालको हबिगत बेहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।'

सांसद बाँस्कोटाले काभ्रे जिल्लामा बाँदर र बँदेलले हैरान पारेको र ठूलो मात्रामा अन्नबाली नष्ट पारेको जानकारी गराउँदै सरकारले कुनै राहतको व्यवस्था गर्न नसकेको गुनासोसमेत गरे ।

प्रतिक्रिया दिनुहोस