प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १५ : ०६
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन्।

उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए।उनले प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको बताए।

उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरुँ भन्नेमा सहमति दिनुपर्ने ठाउँमा, दुई तिहाई नभइ त यो पारित हुँदैन। प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन। प्रतिपक्ष त अगाडि आउनुपर्‍यो नि, ल तपाईंहरु अगाडि बढाउनुस् हामी छौँ। तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ। यहाँ सोझै बोल्न गाह्रो छ। प्रतिपक्ष जोगाउन चाहिराखेको छ। सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ। यस्तो गर्नुहुन्न। यस्तो विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा नउभिनु दुःखद् कुरो हो।’

प्रतिक्रिया दिनुहोस