मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलन गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १३ : २१
मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलन गर्ने तयारी

काठमाडौं  । जनकपुरधाम-मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध अहिंसात्मक आन्दोलन गर्ने भएको छ। संघ र प्रदेशको निर्वाचन अगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत गर्नुपर्ने माग गर्दै मधेस सरकारले प्रदेश प्रमुखमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

आइतबार मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।मन्त्री साहले संघ सरकारले ७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरे शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी दिए।

‘हामीले पटक-पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ। तर, संघ सरकारले कुनै गम्भीरता देखाएको छैन। एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर संघ सरकारविरुद्ध आन्दोलनमा जान्छौँ’, उनले भने।

मन्त्री साहले शान्तिपूर्ण आन्दोलनमा धर्ना, रिले अनसन, रचनात्मक आन्दोलन गर्ने बताए ।

मन्त्री साहले निर्वाचन मिति घोषणा भए पनि अहिले आचारसंहिता लागू नभएको भन्दै भने, ‘अहिले पनि नेपाल सरकारले गर्न खोज्यो भने गर्न सक्छ। र, नेपाल सरकारको सकारात्मक प्रतिक्रिया आए हामी केही दिन पर्खन सक्छौँ। ठिक छ बसेर सल्लाह गरौँ।’

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माको लगायत प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस