सांस्कृतिक क्षेत्रका लेखक- कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने : महासविच पाेखरेल

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १३ : १७
सांस्कृतिक क्षेत्रका लेखक- कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने : महासविच पाेखरेल

काठमाडौं  ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक- कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरूपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरूले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए।

महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हासिल गर्नु अहिलेको आवश्यकता हो भने।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले मार्क्सवादीले धर्म र अन्धविश्वासमा आशक्त नभई वैज्ञानिक खोज र अध्ययनतर्फ विशेष ध्यान दिनुपर्ने बताए।पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समृद्धिको लक्ष्य लिएको एमालेलाई विजयी गराउन आग्रह गरे।

महासंघका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले आगामी दिनमा रचनाशिल्प र विविध विधागत सवालमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए।

उपाध्यक्ष आरसी न्यौपानले ‘जनताको बहुदलीय जनवाद’ को साहित्य र सौन्दर्यबारे जागरण ल्याउनुपर्ने बताए। प्रशिक्षणमा महासंघका विभिन्न सात घटकका केन्द्रीयस्तरका प्रतिनिधि र वाग्मती प्रदेश कमिटीका पदाधिकारी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस