आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : ०४
आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन

काठमाडौं  ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ।

आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौँ उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौँ महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौँमा पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताए।मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए।

उनले भने, ‘पहिलादेखि नै लागू भएको हो। यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ। जनचेतना फैलाउन आवश्यक पनि भएको छ। भेइकलहरूबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ।  यसले इरिटेसन एकदमै धेरै बढाइरहेको पाइएको छ। ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ। व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो। बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ।’

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन्।काठमाडौँ महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो। तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस