माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १९ : १९
माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने  डा.केसीको चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नसमेत माग गरेका छन्।

‘हामीले शेरबहादुर देउवा सरकार बनेयता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौँ। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौँ’, विज्ञप्तीमा भनिएको छ।

डा. केसीले तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गरेका छन्।

त्यस्तै जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।यस्तै संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने माग गरेका छन्।

सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था माग गरिएको छ।

देशभरि दीगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरिनुपर्ने डा. केसीको माग छ।उनले आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउनुपर्छ। यस अगाडि हामीसित सम्झौता भएबमोजिम इलाम, उदयपुर र डडेलधुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।’

प्रतिक्रिया दिनुहोस