माओवादी केन्द्र र नेकपा एस कम्युनिष्टकाे नाममा कलंक हाे: विष्णु पौडेल

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : २१
माओवादी केन्द्र र नेकपा एस कम्युनिष्टकाे नाममा कलंक हाे: विष्णु पौडेल

काठमाडौँ  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कम्युनिष्ट पार्टीका नाममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कलंक भएको आरोप लगाएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले दाङमा आयोजना गरेको प्रदेशस्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले माओवादी र एकीकृत समाजवादी स्खलित हुँदै गएको बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउँदै कांग्रेससँग सहकार्य गर्नेहरू  कम्युनिष्टको नाममा कलंक हुन् ।’ पूर्वअर्थमन्त्री समेत रहेका प्रभावशाली नेता पौडेलले थपे, ‘उनीहरू कांग्रेसको आदेश तामेल गर्ने स्वार्थी पार्टी हुन् । अदालतलाई दुरूपयोग गरेर परमादेशबाट बनेको सरकार आउँदो मंसिरको जनताले विस्थापित  गरी एमालेको सरकार बन्नेछ ।’ 

पौडेलले कांग्रेसलाई बुर्जुवा तर सुधारवादी शक्ति रहेको बताए । ‘कांग्रेस परिवर्तनको संवाहक हैन । दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिष्ट विरोधी, साम्राज्यवाद,  प्रभुत्ववादको रक्षा गर्छ । एसपीपी सम्झौताको ड्राफ्ट त्यसैको उदाहरण हो ।’ 

शक्ति सन्तुलन अहिले बिग्रेर एमाले कमजोरजस्तो देखिए पनि संगठनका हिसावले एक नम्बर पार्टी रहेको पौडेलको भनाइ छ । हिजो दुई तिहाई नजिक रहेको एमाले अहिले बलियो प्रतिपक्ष बन्न पुगेको छ । हिजोको कमजोर प्रतिपक्ष कांग्रेस अहिले सत्तामा छ । यस अवस्थामा पनि देशको बलियो शक्ति एमाले नै रहेको पौडेलले बताए । ‘हिजो एमालेका लागि अनुकूल अवस्था थियो थियो, आज प्रतिकूलता छ । स–साना पार्टीलाई हामीले एक गर्छौँ । जनताका आवाज बुलन्द गर्छौँ । नकारात्मक प्रवृत्तिलाई हटाउँछौँ । त्यही तयारीका साथ चुनावमा लाग्नुपर्ने छ’, उनले भने ।  

प्रतिक्रिया दिनुहोस