आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्छु : मन्त्री कुँवर

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : ०७
आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्छु : मन्त्री कुँवर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताए।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पु¥याउने आश्वासनसमेत दिए।

उनले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाको भूमिका महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे। उनले भने, ‘मैले पनि मन्त्रीपरिषद सदस्यको जिम्मेवारी पाएको छु। मैले आफ्नो मन्त्रालयमा कति बस्छौं, त्यो बेग्लै कुरा हो। जीवन त अस्थायी छ। पद, प्रतिष्ठान भनेको सधैं रहिँरहदैन। यो दुनियाँलाई थाहा भएको कुरा हो। तर हामी जति बस्छौं, जुन क्षेत्रमा हामीले काम ग¥यो। त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। र, मैले खेल्नुपर्ने भूमिकाको लागि र यो मन्त्रालयबाट खेल्नुपर्ने भूमिकालाई अवश्य पनि मैले सकेपछि सहयोग अवश्य पनि रहने विश्वास म दिलाउन चाहन्छु। मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पुर्‍याउने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु।’

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए। सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरूको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस