भारतीय टी–२० टोलीको उपकप्तानी हार्दिकले गर्ने सम्भावना

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : ०३
भारतीय टी–२० टोलीको उपकप्तानी हार्दिकले गर्ने सम्भावना

काठमाडौँ  । हाल भारतीय क्रिकेट टोली वेस्ट इन्डिज र अमेरिकाको भ्रमणमा छ। वेस्ट इन्डिजमा तीन एकदिवसीय र तीन टी–२० खेल खेलेपछि भारतीय टोली अमेरिकाको फ्लोरिडा पुगेको हो। भारतीय टोलीले अमेरिकामा दुई टी–२० खेल्ने छ।

दुई टोलीबीच ६ र ७ अगस्टमा खेल हुनेछ। यसैबीच, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले हार्दिक पाण्ड्यालाई टी–२० टोलीको नियमित उपकप्तान बनाउने तयारी गरिरहेको छ। हार्दिकले इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनबाट शानदार ‘कमब्याक’ गरेका थिए। उनले आफ्नो कप्तानीमा नवप्रवेशी गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए। त्यसपछि उनले आयरल्यान्ड भ्रमणमा दुई टी–२० खेलमा भारतीय टवलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए। ती दुवै खेलमा भारतीय टोली विजयी भएको थियो। 

त्यस दौराका खेलहरूमा हार्दिक कठिन समयमा शान्त देखिन्थे। उनको सही निर्णयले टोलीलाई जित दिलाएको थियो। यसबाट बीसीसीआई निकै खुसी छ। 

विराट कोहली बाहिरिएपछि रोहित शर्मालाई तीनवटै फर्म्याटको कप्तान बनाइएको थियो। उपकप्तानको जिम्मेवारी केएल राहुललाई सुम्पिएको छ। राहुल चोटका कारण केही समयका लागि टोलीबाट बाहिर छन्। बीसीसीआईले उनलाई टेस्टमा नै उपकप्तानमा राख्न चाहन्छ। शिखर धवनले अहिले एकदिवसीयमा यो जिम्मेवारी निभाइरहेका छन्।

एसिया कपका लागि टोली घोषणा गर्दा बीसीसीआईले हार्दिकलाई उपकप्तानको रूपमा नियुक्त गर्ने घोषणा गर्न सक्छ। एक रिपोर्टका अनुसार बीसीसीआई हार्दिकको उत्कृष्ट फिटनेसबाट खुसी छ। छनोटकर्ता पनि उनलाई उपकप्तान बनाउन तयार छन्। अन्तिम निर्णय भने टिम व्यवस्थापनको हुनेछ। 

यदि टिम व्यवस्थापनले चाहेमा छनोटकर्ताको उक्त निर्णय अनुमोदन गर्नेछन्। हार्दिकको अलराउन्ड खेलले बीसीसीआईलाई प्रभावित गरेको छ।

प्रतिक्रिया दिनुहोस