नवगठित नेसपाले विचार मिल्ने राजनीतिक शक्तिसँग चुनावी तालमेलको प्रयास गर्ने

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १५ : ३५
नवगठित नेसपाले विचार मिल्ने राजनीतिक शक्तिसँग चुनावी तालमेलको प्रयास गर्ने

काठमाडौँ  । नवगठित नेपाल समाजवादी पार्टी (नेसपा)का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन् । ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनताका मुद्दाहरूलाई चुनावको क्रममा महत्त्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयमा गम्भीर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए ।

'निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नु छ । र, जनताको मुद्दालाई, जनताका विषयवस्तुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नु छ । यी सबै विषयमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौँ’ उनले भने ।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस