मनाङमा एक वर्षमा जम्मा ३८ योजना सम्पन्न

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १५ : ०७
मनाङमा एक वर्षमा जम्मा ३८ योजना सम्पन्न

काठमाडौँ  । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा शुरू गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् । पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए । गत आवमा जिल्लामा रु एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए । 

जिल्लामा रु ९० लाखको लागतमा ङावल ढलान बाटो, रु ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै रु २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ । ‘हालसम्म रु पाँच करोडबराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,’ प्रमुख विष्टले भने । 

मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टंकी मनाङ सडक कालोपत्रेको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा मनाङमा १६ योजना थप भएका छन् । बर्खा याममा बाढी पहिराे र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस