पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवरको संक्रमण

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १४ : ५०
पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवरको संक्रमण

काठमाडौँ  । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन्।​व्यावसायिक रुपमा फार्ममा पालिएका बंगुरमा गत सोमबार मात्रै उक्त संक्रमण पुष्टि भएको थियो। उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बंगुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ।

उक्त रोगले नगर- ५ स्थित टिम भिजन एग्रिकल्चर प्रा.ली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा- १० को श्रेष्ठ बंगुर फार्ममा क्षति पुर्‍याएको हो।शाखा प्रमुख लीला प्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको  दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बंगुरमा मात्रै देखिएको हो।

 विभिन्न स्थानमा पालन गरिएको बंगुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो। यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ। नगरका विभिन्न स्थान पालिएका बंगुरमा उक्त संक्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ। पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ।यो रोग पशुबाट मानिसमा भने सर्दैन। सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो।

 गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलो पटक पुष्टि भएको हो। ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बंगुर मरेका थिए।

प्रतिक्रिया दिनुहोस