बाजुरामा बाढी : ३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, ११ : ४६
बाजुरामा बाढी : ३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ  । बाजुराको बडी मालिका नगरपालिका वडा नम्बर ९ सेला घाटको सिङ्गो गाउँ नै बाढीका कारण जोखिममा परेको छ ।  शुक्रबार रातिको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको  बाढीले सेला घाट बस्ती नै जोखिममा परेको हो । 

सेला घाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो । बाढीका कारण ३ परिवार पूर्ण रूपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दीपक विष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले जानकारी दिए ।

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेको छ  भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी आएको थाहा पाएपछि स्थानीय राति नै घरबाट अन्यत्र सरेका थिए । 

खहरे खोलाको बाढीकै कारण साँफे-मार्तडी सडक पनि अवरुद्ध भएको छ । बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस