भारतले जित्यो यु-२० साफको उपाधि

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, ०७ : ४२
भारतले जित्यो यु-२० साफको उपाधि

काठमाडौँ । आयोजक भारतले यु-२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५-२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरत सिंहले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे। खेलको निर्धारित समय भने २-२ को बराबरीमा टुङ्गिएको थियो। त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गरेको हो।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैँले कुनै गल्ती गरेनन्।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए। ४८ औँ मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६१ औँ मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए। यसपछि खेलको ९२ औँ मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए।

त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे। खेलको ९९ औँ मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे।

प्रतिक्रिया दिनुहोस