आगामी निर्वाचन पनि गठबन्धनबाट नै जाने सहमति छ : हरिबोल गजुरेल

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १९ : २५
आगामी निर्वाचन पनि गठबन्धनबाट नै जाने सहमति छ : हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले प्रतिनिधि सभालाई निर्वाचनका दिनसम्म जारी राख्ने विषयमा छलफल भइरहेकाले निर्वाचन घोषणा गर्नै ढिला भएको बताए । उनले अहिले गठबन्धनमा संसद जारी राख्ने विषयमा छलफल भइरहेको तर निर्वाचन मंसिरमा गर्ने सहमति भएको बताए ।

मंंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उनले आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै भएको पनि बताए । उनले भने, ‘आगामी निर्वाचन पनि गठबन्धनबाट नै जाने नेकपा माओवादी केन्द्रको निर्णय भएको छ । पहिलाको गठबन्धन कायम राख्ने गठबन्धन भन्दा बाहिर रहेका दललाई समेत गठबन्धनमा सामेल गर्ने प्रयास गर्नेछौं । समाजवादी केन्द्र बनाउने कुरा त्यत्तिकै प्रचारमा आयो । आगामी निर्वाचन मंसिरमा गर्नुपर्छ भन्ने विषयमा सबै सहमति छ । अब प्राविधिक कारणले रोकिएको छ ।’

उनले थपे, ‘संसद धेरै अवरुद्ध भएकाले संसदलाई निर्वाचनसम्म जारी राखेर अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको छ । त्यसकारण पनि निर्वाचन घोषणा ढिला भएको हो ।’

प्रतिक्रिया दिनुहोस