काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका जन वर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रूपमा काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जन वर्गीय संगठनहरुको उपस्थिति छ ।
सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जन वर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।
माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायतका जन वर्गीय संगठनहरुको प्रदर्शनमा सहभागिता छ ।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रूपमा अघि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १५ : २१
लेखकबाट थप