बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १५ : १८
बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने

काठमाडौँ  । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।

शुक्रवार बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबारे छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका हुन्। उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमान्‌लाई पनि अंगीकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए।

'नेपाल र बेलायतबीच भएको सन्धिअनुसार गोर्खा सैनिकको हकमा माथि उल्लिखित दफाहरू लागू हुनेछैनन्। उनीहरूलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ’, संशोधन प्रस्ताव राख्दै उनले भने, ‘विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोवास गर्ने नेपाली महिलाका श्रीमान्‌लाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा निजलाई अंगीकृत नागरिकता दिन बाधा पर्नेछैन।’

उनले वि.सं. २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूलाई पनि हाल उनीहरूका दाजु, दिदीहरूले जसरी नै नागरिकता दिइनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस