एमालेका सांसद भीम रावलले रोस्ट्रम नछाड्दा बुधबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १६ : २३
एमालेका सांसद भीम रावलले रोस्ट्रम नछाड्दा बुधबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

 काठमाडाैँ । नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम नछाड्दा बुधबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित हुन पुगेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद पूर्णकुमार सुवेदीपछि रावल रोस्ट्रममा बोल्न आएका थिए। बैठकमा ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो।

रावलले भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ ल्याए। रावल बोल्न थालेपछि सभामुख अग्नि सापकोटाले विश्राम लिए। सांसद सत्या पहाडी बैठक सञ्चालनका लागि सभामुखको आसनमा आइन्। 

सांसद रावल बोलिरहेका थिए। सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भएपनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने सांसद रावलले माग गरे। 

मन्त्रिपरिषद्‌ले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत् सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे। सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक रावललाई आफ्नो आसनमा गएर बस्न आग्रह गरिन्। रावलले भने एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने  माग जारी राखे र रोस्ट्रममै उभिरहे। 

रावल रोस्ट्रममा उभिएको २० मिनेट पुग्न लागेको थियो, सभामुख सापकोटा पुन: आफ्नो स्थानमा आए। सापकोटाले रावललाई विषयान्तर भएर कुरा आएको भन्दै आफ्नो आसनमा गएर बस्न आग्रह गरे। तर, रावलले मानेनन्। 

रावलले रोस्ट्रम छाड्न नमानेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुपर्‍यो। १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक पुन: सुचारु भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस