एमालेले भन्यो - स्वास्थ्य बीमामा सरकारले नियोजित षड्यन्त्र गर्दैछ

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १३ : ०२
एमालेले भन्यो - स्वास्थ्य बीमामा सरकारले नियोजित षड्यन्त्र गर्दैछ

काठमाडाैँ । नेकपा एमालेले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । 

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न माग गरेका छन् । 

‘संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रुपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको सर्वविदितै छ । वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको छ ’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको स्पष्ट छ ।’ 

बजेट वक्तव्यमार्फत आएको ‘जनविरोधी’ नीति फिर्ता लिनसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस