नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ३१
नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता

 काठमाडाैँ । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्ष पछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भए पनि हालै सरकारले सो विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको हो । सो विधेयकमा दलहरुबीच पूर्ण सहमति नभए पनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

पुनः संसदमा पेश भएको नागरिकता विधेयकमा चार दर्जन भन्दा बढी संशोधन प्रस्ताव दर्ता भए पछि सरकारले सो विधेयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस