चीनलाई ७६२ मेगावाटको तमोर जलविद्युत्त आयोजना दिन सरकारको तरखर

मंगलबार, २२ जेठ २०७५, १३ : ११
चीनलाई ७६२ मेगावाटको तमोर जलविद्युत्त आयोजना दिन सरकारको तरखर

काठमाडौं  । अरुण तेस्रो आयोजना भारतीय कम्पनीलाई जिम्मा लगाएको सरकारले अर्को ठूलो आयोजना चीनलाई दिने तयारी गरेको छ ।
दैनिक पत्रिका अन्नपूर्णका अनुसार चिनियाँलाई तमोर दिन सरकारले तरखर गरेको छ । खोलानाला विदेशीलाई सम्पने पुरानै शैली पछ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तमोर चिनियाँलाई दिने तरखर गरेको समाचार अन्नपूर्णमा छ ।

हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त मानिन्छ, तमोर जलविद्युत्त आयोजना । ७ सय ६२ मेगावाटको यो आयोजना सरकारले विद्युत्त प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको अगुवाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत्त प्राधिकरणलाई पत्र लेखी तमोर जलाशययुक्त आयोजना विकासका लागि लगानीबोर्डबाट माग गरिएबमोजिमको धारणा यस कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

लगानी बोर्डले गत वैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्राधिकरणलाई तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सम्बन्धमा प्राधिकरणको धारणा मागेको समाचारमा छ ।

प्रतिक्रिया दिनुहोस