काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षको कारबाहीमा परेका बाबुराम भट्टराई पक्षका ९ जनामध्येका एक गंगानारायण श्रेष्ठले समाजवादी केन्द्र निर्माणमा जोड दिएका छन् । हिजोका इतिहास परिवर्तनका मुख्य शक्तिहरू एकपटक नयाँ चेतनासहित अवस्था परिवर्तन गर्न इमानदार भएर लाग्न आवश्यक रहेको उनले बताएका छन् ।
नयाँ चेतना भनेको परम्परागत पुँजीवाद र साम्यवादबाट अघि बढेको समुन्नत समाजवाद भएको उल्लेख गर्दै उनले अहिले नै समुन्नत समाजवाद सम्भव नभए तत्काल वाम–लोकतान्त्रिक चरित्रसहितको समाजवादी केन्द्र निर्माण गरेर जानुपर्ने बताएका छन् । ‘नयाँ युगको नेतृत्व नयाँ चेतनाबाट मात्रै सम्भव छ ।
इतिहासविना वर्तमान र वर्तमानविना भविष्य निर्माण हुँदैन । त्यसैले इतिहासप्रति गर्व गर्दै र इमानदार हुँदै हिजोका इतिहास परिवर्तनका मुख्य शक्तिहरू एकपटक नयाँ चेतनासहित अवस्था (विकास, समृद्धि) परिवर्तन गर्न ईमानदार भएर लाग्न आवश्यक छ’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अब प्रश्न उठछ– नयाँ चेतना भनेको के हो ? मेरो विचारमा नयाँ चेतना भनेको परम्परागत पुँजीवाद र साम्यवादबाट अघि बढेको समुन्नत समाजवाद हो । अहिले नै समुन्नत समाजवाद संभव नभए तत्काल वाम–लोकतान्त्रिक चरित्रसहितको समाजवादी केन्द्र निर्माण गरेर जानु हो । यसका लागि सबै इमानदार बनौं ।’
उनले माओवादी जनयुद्धमा कैयौं कमजोरी भए पनि सोही युद्धको जगमा २४० वर्ष पुरानो एकात्मक सामन्ती राजतन्त्र अन्त्यगरि सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सम्भव भएको उल्लेख गरेका छन् ।
संविधानसभाबाट संविधान घोषणा भएपछि युग परिवर्तन भएको उल्लेख गर्दै उनले लोकतन्त्रको लडाइँ आधारभूत रूपमा पूरा भएको धारणा राखेका छन् । लोकतन्त्रको बाँकी लडाइँ लड्दै अब नेपाललाई समृद्धिको बाटोमा हिँडाउनुको विकल्प नभएको उनको भनाइ छ । त्यो समृछि नयाँ युगको नेतृत्व नयाँ चेतनाबाट मात्रै सम्भव रहेको उनले दोहोर्याए ।
उनले नेताहरुबीच एकले अर्कालाई आरोपप्रत्यारोप नगरी हिजोका आ–आफ्नो प्रयोगलाई अनुभवजन्य सम्पत्ति सम्झदैँ पुनः एकठाउँमा उभिनुपर्नेमा पनि जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, ०८ : १७
लेखकबाट थप