अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ११ : ५५
अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ती उजुरी परेका हुन् । 

सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको अख्तियारले जनाएको छ । आर्थिक वर्ष  २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । 

‘कुल २४ हजार २४१ उजुरीहरू रहेको मध्ये १७ हजार ९८ उजुरी फर्छ्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७०.५३ प्रतिशत हुन आउँछ,’ प्रवक्ता भण्डारीले भने । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् । गत आर्थिक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए । 

आर्थिक वर्ष २०७७/७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा (६४.२३ प्रतिशत) उजुरी फर्छ्यौट भएका थिए ।  

प्रतिक्रिया दिनुहोस