काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाएकी छन् । राज्यको शक्तिको दुरुपयोग गरेर एमालेले अहिले पनि काम गरिरहेको उनको आरोप छ ।
आइतवार राष्ट्र बैंक परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐनलाई छलेर एमालेले अधिकारीलाई अर्थतन्त्रको नेतृत्व गर्न दिएको आरोप लगाइन् । उनले गर्भनर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताउँदै उनले भनिन्, ‘डमीको रूपमा ल्याउन लागिएका एम अधिकारी कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ एमालेले वित्त तथा योजना आयोगमा राखेको एम अधिकारी गभर्नर अधिकारी नै भएको उनको दाबी छ । यो तथ्यलाई एमालेले कुनै पनि हालतमा गलत सावित गर्न नसक्ने उनको भनाइ छ ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएपछि उनको राजीनामा माग भइरहेको छ । एमालेले विभाग सदस्यमा ‘एम अधिकारी’लाई नियुक्त गरेको छ । उक्त एम अधिकारी गर्भनर अधिकारी भएको दाबीसहित उनीविरुद्धको आन्दोलन चर्किदै गएको छ । सत्तारुढ दलका भ्रातृ संगठनहरूले गभर्नरले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन चर्कारहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १४ : ५५
लेखकबाट थप