गभर्नरलाई राजीनामा दिन नेविसंघ र अखिल क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १४ : १६
गभर्नरलाई राजीनामा दिन नेविसंघ र अखिल क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। आइतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरविरुद्ध आन्दोलन भइरहेको छ। 

सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका छन्। विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाइन्। 

उनले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताइन्। राज्यको शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप लगाइन्, उनले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गरिन्। नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताइन्। उनले डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिए। 

विरोध प्रदर्शनमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताए। 

उनले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी दिए। आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस