नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण : अध्यक्ष दाहाल

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १३ : १९
नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण  : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन्।शनिबार भारतकाे राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा पत्रकारहरूसँग बाेल्दै यस्ताे बताएका हुन्।

उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए।उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्‍याए।

अध्यक्ष दाहालले भने, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन। समग्रमा नेपाल-भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो। यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’

उनी शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए। दाहालले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नेछन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन्। आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस