नागरिकता विधेयकले नेपालको राष्ट्रियता सबल बनाउँछ, यसमा राजनीति नगरौँ : यादव

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १४ : ५५
नागरिकता विधेयकले नेपालको राष्ट्रियता सबल बनाउँछ, यसमा राजनीति नगरौँ : यादव

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) की सांसद सरलाकुमारी यादवले सरकारले ल्याएको नागरिकता विधेयकले नेपालको राष्ट्रियता सबल बनाउने बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै सांसद यादवले नागरिकता विधेयक नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा रहेको बताइन् । 

उनले नागरिकताको विषयमा राजनीति नगर्न सांसदहरूलाई आग्रह गरिन् । यादवले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई कुनै सर्त नराखी अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु प्रशंसनीय भएको बताउँदै भनिन्  – ‘संविधानमा नागरिकता सम्बन्धी व्यवस्थामा संघीय कानुन बमोजिम हुने भनिएकाले यस संसदसमक्ष यो विधेयक पेस भएको हो । यो नेपाली जनता र नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा छ । यसमा राजनीति नगरौँ भन्ने मेरो अनुरोध छ ।’

सांसद यादवले कानुन कार्यान्वयन गर्ने अधिकारीले गर्ने व्यवहार महिला मैत्री नभएको भन्दै आगामी दिनमा यस्तो नहुने व्यवस्था गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस