नागरिकता विधेयकमा सत्तारूढ सांसदकै असन्तुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १४ : १९
नागरिकता विधेयकमा सत्तारूढ सांसदकै असन्तुष्टि

काठमाडौँ  । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेट्न नसकेको गुनासो गरिन् । 

उनले तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । सचेतक भुसालले भनिन्, ‘कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउनका लागि त्यो आवश्यक छ । तेस्रो लिंगीले नागरिकता पाउन कुरालाई पनि यो संशोधन विधेयकले समेट्न सकेको छैन । म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचेतक भुसालले तेस्रो लिंगीको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्न नमिल्ने पनि पटकपटक दोहोर्‍याइन् ।

प्रतिक्रिया दिनुहोस