मधेसी होइन, विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति हुँदैनः मिनेन्द्र रिजाल

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १९ : २३
मधेसी होइन, विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति हुँदैनः मिनेन्द्र रिजाल

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन्।

उनले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गरे।

सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए। उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भनेर मानिसहरु पर्खिएर बसेको बताए।

उनले भने,‘नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ संविधानले लेखेको छ। तर लेखेर नागरिकता प्राप्त भएको छैन। एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने एउटा अनुहारका मानिसहरुलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नति हुँदैन। कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन। यहाँ बस्ने सांसद हौँला, जनताका प्रतिनिधि हौँला तर नेपालमा जन्मेको नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन।’

 

प्रतिक्रिया दिनुहोस