काठमाडौं । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेर्रेटाबाट ल्याउन लागिएको हो।
बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल खरिद गर्न लागिएको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चार गुणा बढी हो। १२ बोरका बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि सोही खालको हतियार ५० हजार केजी बुक गरिएको हो।
‘सरकारले निर्णय गरेपछि बिहीबार इटालियन कम्पनी बेर्रेटासँग हतियार बुक गरिएको छ,’ स्रोतले भन्यो, ‘यो लागत मूल्यभन्दा धेरै बढी हो। यसमा नेपाली बिचौलियाहरूको हात छ।’ स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र हालै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको चासोमा नेपालबाट व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र त्यसअन्तर्गत रहेको अर्को एक कम्पनीले हतियार खरिदका लागि मध्यस्थता गरिरहेको छ। ‘राजनीतिक रुचि र चासोबिना हतियार खरिद सम्भव छैन। यसमा प्रधानमन्त्री देउवा र पूर्वअर्थमन्त्री शर्माको सबैभन्दा बढी रुचि रहेको देखियो,’ गृह मन्त्रालयका एक अधिकारीले भने। हतियार खरिदका लागि भट्टले प्रधानमन्त्री र अर्थमन्त्रीलाई मनाएर बजेट हाल्न लगाएको स्रोतको भनाइ छ।
करिब १ अर्ब ३५ करोडको हतियार किन्न ग्लोबल टेन्डर आह्वान गर्नुपर्नेमा सरकारले एउटा नेपाली कम्पनीको माध्यमबाट हतियार बुक गरेको हो। ‘इटालीको बिएस कार्गो एसईबाट हतियार ल्याउन लागिएको हो। सो कार्गोले कोरियन एयरलाइन्सबाट हतियार नेपाल ल्याइदिनेछ,’ स्रोतले भन्यो। बुक गरिएका सबै हतियार पुराना हुन्।
‘सन् २०१७ मा बनेका हतियार बुक भएका छन्, सन् २०२० पछि बनेका हतियार अत्याधुनिक छन् तर पुराना हतियार किन्दा साइजको पनि ख्याल गरिएको छैन,’ स्रोतले भन्यो, ‘हतियार खरिदमा करोडौंको आर्थिक चलखेलको सम्भावना देखिन्छ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार
दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा
हतियारसहित सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ