जसपा नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, १२ : ४१
जसपा नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानको आन्दोलनको प्रतिनिधित्व गर्ने राष्ट्रिय राजनीतिक दल जसपा नेपाल भएको भन्दै पहिचानको आन्दोलनमा पार्टीको नेतृत्वदायी भूमिका रहने बताएका हुन् ।

‘नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) समेतको सहमतिमा प्रदेश नं १ लाई कोशी प्रदेश नामकरण गर्ने प्रदेश सभाको निर्णयको जसपा नेपाल सुरुदेखि नै विपक्षमा उभिएको छ । त्यसको विरुद्धमा जारी आन्दोलनमा पार्टीले नेतृत्वादायी र सक्रिय सहभागिता जनाएको छ,’ बस्नेतले भने ।

जसपा नेपाल सुरुदखि नै पहिचानमा आधारित दस जोड एकको राज्य पुनर्संरचनाको प्रस्तावको पक्षमा उभिएको पार्टी हो । कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जसपा नेपालले आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन गरेर नपुग्ने भन्दै उनले पार्टीले अब आन्दोलनको नेतृत्व गर्ने बताए । जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरेको छ । उक्त समितिको आयोजनामा आगामी वैशाख २० गते पार्टीले सुनसरीको धरानमा कोशी नाम र केबलबार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ ।