महिला सांसदहरूले संघीय चुनावमा महिलाका लागि प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र छुट्याउन माग गरे

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १४ : १८
महिला सांसदहरूले संघीय चुनावमा महिलाका लागि प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र छुट्याउन माग  गरे

काठमाडौं । महिला सांसदहरूले संघीय चुनावमा महिलाका लागि प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र छुट्याउन माग गरेका छन्।आइतबार संसदको विशेष समयमा महिला सांसदहरूले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्षमै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन्।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले महिलाको राजनीतिक अधिकार सुनिश्चिताका लागि प्रत्यक्षमै सिट सुरक्षित गर्नुपर्ने माग गरे।

भुसालले ‍ भनिन्, ‘प्रत्यक्षतर्फ महिलाले प्रतिस्पर्धा गर्नै नपाउने अवस्था छ। संविधानले संसदमा ३३ प्रतिशतको व्यवस्था गरे पनि चुनावी प्रतिस्पर्धामा अवसर पाएका छैनन्। त्यसकारण आउँदो चुनावमा ३३ प्रतिशत सिटमा महिलालाई उठाउनुपर्छ।’त्यस्तै,  माओवादी केन्द्रकी सांसद शर्माले स्थानीय तहमा महिलाका लागि छुट्टै सिट निर्धारण गरे जस्तै संघको हकमा पनि महिलाले प्रस्तिपर्धा गर्न पाउने व्यवस्थाका लागि आग्रह गरिन्।

‘प्रत्यक्ष निर्वाचन प्रणाली पुरुषका लागि र समानुपातिक महिलाका जस्तो भएको छ। प्रत्यक्षतर्फ महिला उम्मेद्वारीबारे बाध्यात्मक अवस्था नहुँदा महिला उम्मदको संख्या घटेको छ। संघ र प्रदेशमा कम्तिमा ३३ प्रतिशत क्षेत्र महिलाको लागि चाहिएको छ’, उनले भनिन्।

शर्माले गठबन्धनमा गर्दा महिलाले कम अवसर पाउने तर्फ आशंका गर्दै त्यसलाई बेलैमा सम्बोधन गर्न माग गरिन्। गठबन्धन राम्रो कुरा भए पनि त्यसले महिलाको अधिकार कटौती हुन नहुने उनको भनाइ थियो।

सांसद शर्माले भनिन्, ‘गठबन्धन गर्दा संख्या कम हुन सक्छ, यसतर्फ सरकारलाई आग्रह गर्न चाहन्छ, गठबन्धन गर्दा पनि अधिकार कटौती नहुने व्यवस्था गरियोस्। स्थानीय तहमा महिलालाई अनिवार्य गरेजस्तै संघमा पनि हुनुपर्छ।’

जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि महिलाका लागि छुट्टै क्षेत्रको व्यवस्था गर्न माग गरिन्।उनले भनिन्, ‘सुरुवात गर्नका लागि तीन-चार क्षेत्र महिलालाई मात्रै प्रतिस्पर्धा गर्न दिनुपर्छ।’संविधानले संघीय संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरे पनि प्रत्यक्षतर्फ भने कुनै ठोस व्यवस्था गरेको छैन। प्रत्यक्षतर्फ संघमा १६५ र प्रदेशमा ३३० सिटमा चुनाव हुन्छ।

प्रतिक्रिया दिनुहोस