काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक सहमतिको आधारमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै श्रेष्ठले शान्ति प्रक्रिया छिटो टुंगो लगाउन त्यस सम्बन्धी आयोगमा छिटो पदाधिकारी नियुक्त गर्नुपर्ने बताए ।आज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज आयोजित पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।
यसअघि सरकारले दुईवटा आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरे पनि त्यो समितिले सहमति नजुटेको भन्दै सिफारिस गर्न सकेको थिएन । त्यसैले अर्को सिफारिस समिति तत्काल गठन गर्नुपर्ने श्रेष्ठले बताए ।
शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भए पनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको उनको टिप्पणी छ ।श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रूपान्तरण अहिलेको मुख्य कार्यभार भएको भन्दै श्रेष्ठले ती कार्यभार छिटो पूरा गर्नुपर्ने बताए । ‘छिटो राजनीतिक सहमतिको आधारमा जिम्मेवारी सिफारिस कमिटी गठन गरियोस् । त्यसको सिफारिसको आधारमा सरकारले शान्तिप्रक्रियाको काम पूरा गरोस्,’ उनले भने ।
सामाजिक आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्नुपर्ने भन्दै उनले त्यो काम माओवादी केन्द्रले मात्र पूरा गर्न सक्ने श्रेष्ठले बताए । ‘हामी चाहन्छौँ यो कार्यभार हाम्रो पार्टीले पूरा गर्नुपर्छ । हाम्रो पार्टीले यो कार्यभार पूरा गर्न सकेन भने अरु कुनै पनि पार्टीले गर्न सक्दैन,’ उनले भने ।
शान्तिप्रक्रिया पूरा गर्न नसके र आर्थिक समाजिक रूपान्तरणको काम गर्न नसके देश ठूलो दुर्घटनामा पर्ने उनले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १६ : ००
लेखकबाट थप