चालु अधिवेशनमा ५६ विधेयक पारित गर्ने तयारीमा सरकार

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १३ : १६
चालु अधिवेशनमा ५६ विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले चालु अधिवेशनमा करिब ५६ विधेयक पारित गर्ने आफ्नो तयारी संसद्लाई जानकारी गराएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा आइतबार राष्ट्रियसभालाई यस्तो जानकारी गराएका हुन् ।मन्त्री कोइरालाका अनुसार राष्ट्रियसभामा उत्पत्ति भएर प्रतिनिधिसभामा गएका १२ विधेयक छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका ४१ विधेयक छन् । त्यसबाहेक सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि आठ प्रतिस्थापन विधेयक प्रस्तुत छ ।

संसद्मा रहेका प्रतिस्थापनबाहेकका ५३ विधेयकमध्ये पाँच संविधान संशोधनसँग सम्बन्धित भएका कारण पारित हुने/नहुने अहिले भन्न नसकिए पनि बाँकी विधेयक पारित गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

“राष्ट्रियसभामा उत्पत्ति भएर प्रतिनिधिसभा गएका १२ वटा विधेयकहरू छन् । प्रतिनिधिसभाबाट उत्पत्ति भएर आएकासहित कुल ५३ विधेयक संसद्मा विचाराधीन छन् । त्यसको अत्तिरिक्त यो अधिवेशन सुरु भइसकेपछि आठवटा अध्यादेशका प्रतिस्थापन विधेयकहरू छन् । त्यसभन्दा छुट्टै आर्थिक र विनियोजन विधेयकहरू पनि छन् । यसमा सबैभन्दा प्रायोरिटीमा विनियोजन विधेयक राखेका कारण यो अगाडि नआएको मात्रै हो । त्यसबाहेक आजै म प्रतिनिधिसभामा अर्को विधेयक प्रस्तुत गर्दै छु,” उनले भने, “त्यसमध्ये पाँचवटा संविधानको संशोधनसँग सम्बन्धित छन् । ती विधेयकका सन्दर्भमा अहिले केही गर्न सकिन्छ/सकिन्न भन्न सकिन्न । यहाँबाट गएका सबै र बाँकी विधेयकहरू अब ठूलै खण्ड खातिर भएन भने पारित गर्ने योजनामा सरकार छ ।”

उनले अहिले बजेट अधिवेशन भए पनि विधेयक अधिवेशनका रूपमा अघि बढाउने तयारीमा सरकार रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस