काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ ।पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् ।शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले भने नयाँ मन्त्रीको शपथ आइतबार हुने जनाएको छ । ‘प्रधानमन्त्रीकै बाचा अनुसार आज मन्त्री हेरफेर हुनु पर्ने हो, हामी त्यसमा आशावादी छौ ।’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले खबरहबसँग भने । प्रधानमन्त्रीसँग भएको कुराकानीमा पनि आजका लागि भाखा राखिएको उनको भनाइ छ ।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने हालसम्म मन्त्री हेरफेरको कुनै तयारी नभएको जानकारी दिएका छन् । ‘भरेसम्म के हुन्छ भन्न सकिन्न तर अहिलेसम्म मन्त्रीमण्डल पुनर्गठनको सुचना आएको छैन।’उनले खबरहबसँग भने ।
यस्तै मन्त्री बन्ने सूचीमा रहेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि आफूहरूलाई हालसम्म शपथका लागि कुनै सुचना नआएको बताएका छन् । उनले निराश हुँदै भने– ‘हामी प्रधानमन्त्री कार्यालयको फोन कुरिरहेका छौ । तर अहिलेसम्म कुनै सुचना, खबर आएको छैन ।’
एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको ३ साता बित्न लाग्दासमेत प्रधानमन्त्री देउवाले मुख खोलेका छैनन् । जनता समाजवादी पार्टी, माओवादी केन्द्र र आफ्नै दल कांग्रेसमासमेत मन्त्री फेर्न दबाब पर्ने भन्दै उनले आनाकानी गरिरहेको हुनसक्ने कतिपयको बुझाइ छ ।
एकीकृत समाजवादीले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय शनिबार मात्रै केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १२ : १६
लेखकबाट थप