स्थानीय तह निर्वाचन

त्रियुगा-१२ मा फेरि मतदान माग गरिएको रिट भट्टराईको इजलासमा

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, १२ : ५२
त्रियुगा-१२ मा फेरि मतदान माग गरिएको रिट भट्टराईको इजलासमा

काठमाडौं । प्रदेश -१ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ ।  रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । 

निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् । ‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले बताए । 

‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ’, उनले न्युज कारखानासँग भने, ‘तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’

मतदान गर्न नपाएको भन्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् ।रिटको प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षी निर्वाचन अधिकृतको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

निवेदकको मागअनुसार अदालतले फेरि मतदान गर्न अन्तरिम आदेश भने जारी गरेन ।  अदालतको कारण देखाउ आदेशपछि बुधबारदेखि त्यहाँ मतगणना सुरु भएको छ । 

मतगणना सुरु हुनुपर्ने पक्षमा कांग्रेस र एमाले उभिएको थियो । फेरि, मतदानको पक्षमा भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत पार्टी छन् । 

प्रतिक्रिया दिनुहोस