मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०८१, १४ : २४
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको शंखरापुर–लप्सेफेदीमा निर्माण हुने सव स्टेसनको विषय संसदमा उठाएकी छन् ।

शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ‘प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्ती बिचबाट लगिएको सव–स्टेसनले’ स्थानीय जनताको उठिबास हुने अवस्थामा पुगेको बताइन् ।

‘राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताहरू गर्न थालेका छन् । आज प्रशासन र नागरिकबिच भएको द्वन्द्व त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ‚’ उनले भनिन्‚ ‘त्यहाँका जनता विकास विरोधी होइनन् तर राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको छ ।

उनले जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरिने विकास कार्यले जनतालाई कसरी राहत दिन सक्छ भन्दै प्रश्न गरिन् । ‘विकासलाई जनता स्वयमले आत्मसात् गर्न पाउनुपर्छ सरकारले जनताको आवाजलाई बेवास्ता गरी उम्कन हुँदैन‚’ उनले भनिन् ।

सांसद गौतमले त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रूपमा वार्ता गर्न माग गर्दै भनिन्‚ ‘लाठी नभाँचियोस् सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस