काठमाडौं । मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न(देख्न सकिने उनले बताए । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ ।
‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेको धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छ्रेतारा वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् ।
यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरू पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १० : ४१
लेखकबाट थप