नुवाकोटमा आज सिन्दुरे जात्रा मनाइँदै

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १० : २५
नुवाकोटमा आज सिन्दुरे जात्रा मनाइँदै

काठमाडौं । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ ।जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो ।

जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पुर्‍याइएकाे भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय-जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए ।भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरूले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पुर्‍याइएको हो ।आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दुर छर्केसँगै यस वर्षको सिन्दुरे जात्रा मनाइनेछ ।

गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो ।यो उल्लास आज सिन्दुर खेल्ने समयसम्म कायम रहने गरेको छ ।

सिन्दूरेजात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवानकाे रूपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोगबली, राष्ट्रमा के हुन्छ भने गरिने गोप्य भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाका सरोकारवाला व्यक्तिको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्त्वको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस