काठमाडौं । कञ्चनपुरमा बिरामी भएकी एक महिलाको झारफुकका क्रममा मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा महिलाको मृत्यु भएको हो।महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानीको घरमा मृत्यु भएको हो। मृतक साउँद केही दिनदेखि बिरामी थिइन्।शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन्। सोही क्रममा उनको मृत्यु भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १४ : २७
लेखकबाट थप